चितवनको समग्र विकासको प्याकेज ल्याउँछु ः प्रम

चितवन,२६,पुस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताउनुभएको छ । आज मेघौलीमा रहेको साना सहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले चितवनको विकासका लागि योजना ल्याउने बताउनुभएको हो । ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पुनः सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’ खानेपानीको हक जनताको मौलिक हक भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मुख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायत उपस्थिति थिए । मेघौली खानेपानीको उद्घाटनपूर्व प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलत निरीक्षण गर्नुभयो । स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले भन्नुभयोे, ‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।’प्रधानमन्त्रि दाहालले भन्नुभयो ।

Leave a comment

Your email address will not be published.


*