नेपाली पुँजीबाट ऊर्जा उत्पादन बढाइनेःऊर्जामन्त्री शर्मा

काठमाडौं,२५,पुस
ऊर्जा मन्त्रालयले स्वदेशी पुँजी नै ऊर्जा क्षेत्रमा लगाउने योजनासहित ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम ल्याएको छ । सोमबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा कार्यक्रम सुरु गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपाली पुँजीबाट ऊर्जा उत्पादन बढाइने बताउनुभयो । त्यसका लागि स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम संकलन गरी क्षमताअनुसार लगानी गर्ने योजना उहाले सुनाउनुभयो । उहाले स्वदेशमा उत्पादित ऊर्जा आन्तरिकरुपमै खपत गर्ने र बढी भएको ऊर्जा निर्यात गरी विदेशी रुपैयाँ भित्र्याइने लक्ष्य सरकारको रहेको बताउनुभयो । हरेक वर्ष बढ्दै गएको विद्युत्को माग आन्तरिक उत्पादनबाटै पूर्ति गर्न निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गर्न ताकेता गरिरहेको उहाले बताउनुभयो । सो अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी जेठदेखि मुलुकभर लोडसेडिङ अन्त्य गर्न तीव्रगतिमा काम भइरहेको जानकारी दिनुभयो । घरेलु उत्पादन र भारतबाट आयातित विद्युत्ले आगामी जेठबाट आन्तरिक माग धान्ने उहाको भनाइ छ । पछिल्लो चार महिनामा दुई प्रतिशत विद्युत् चुहावट नियन्त्रणमा आएको दाबी पनि उहाले गर्नुभयोे । सन् २०२० सम्ममा करिब ७ हजार मेगावाट, २०२५ मा ११ हजार मेगावाट आन्तरिक विद्युत्को माग हुने अनुमान मन्त्रालयको छ ।

Leave a comment

Your email address will not be published.


*